+
Search

ताजा अपडेट +

पपुलर +

हरायो पुर्वजको आविष्कार, नयाँ पुस्ताका लागि दन्त्य कथा बन्दै

कोशी खबर
२०७८ असार १७, बिहीबार १५:१०

भोजपुर । जिल्लामा परापुर्वकालदेखी चलिआएका मौलिक सस्कृति हराएका छन् । बदलिंदो परिवेशसँगै हाम्रा पूर्खाले आर्जेका ज्ञानहरु हराइसकेका छन् । हिजो जुन रुपमा एउटा चक्र सरी ज्ञान, सीप र अभ्यासहरु सर्दै आइरहेका थिए । यो क्रम निरन्तर आधुनिकताका नाममा नास हुँदै छ । हाम्रा पूर्खाले पहिलेदेखि प्रयोग गर्दै सिक्दै आएका ज्ञानहरु उचित संरक्षण र अभिलेखीकरणको अभावमा आज हामीहरुबाट गुम्ने स्थीतिमा छन् ।
नेपाल त्यसैपनि कला र सस्कृतिको धनि देश भनेर चिनिन्छ तर वर्तमान समयमा यस्ता नेपालीका मौलिक सस्कृति हराउदै गएका छन् । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधा भोगी प्रवृत्तिका कारण भाेजपुरमामा रैथाने प्रविधि लोप हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरू हराउँदै गएका हुन् । करिब दुई दशकअगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग बिस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि भाेजपुरमा यी घरेलु मेसिन विस्थापनमा परेका छन् । परापुर्वकालका मेसिन तथा औजारहरु एउटा मात्रै नभएर प्रायः सबै विस्थापित भइसकेका छन् । नेपाली समुदायमा यस्का उदारहण प्रशस्तै छन् ।
तुलोः विशेषत नेपाली समाजको ग्रामिण समुदायमा मासु जोख्नको लागि प्रयोग गरिने सामाग्री हो । यो तुलो आजभोलि हराउदै गएको छ । मासु तथा जोख्नयोग्य सामाग्री तुलोबाट जोख्दा धार्नि, बिसौलि, आठपोल आदिमा जोखेर हिसाव निकाल्ने गरिन्थ्यो । तर आजभोली आधुनिक सामाग्रीका कारण यसको प्रयोग हुन छाडेको छ । तुलो प्रयोग त हुदैन नै तर देख्न धरि पाइदैन् । तुलो जस्तै अर्को सामाग्री गण्डा पनि हो । यो जिल्लाको भोटखोला क्षेत्रमा प्रयोग गरिन्थ्यो । तर आजभोलि देख्नपनि पाइदैन् ।
झुलो चकमकः यो आगो निकाल्न (बाल्न) को लागि प्रयोग गरिने सामाग्री हो । जसमा, दल्सिन ढुङगा, फलामको टुक्रा, र केराको झुस प्रयोग गरिन्छ । दर्शिन ढुङगा र फलामको टुक्रालाई घर्षण गराएर केराको झुस तथा नेपाली कागजमा आयो बालिन्छ । अहिले यो पनि हराउदै गएको छ । आधुनिक सामाग्रीहरु सलाई, लाइटर, ग्यास लगाएतका सामाग्रीले गर्दा यसको प्रयोग हुन छाडेको हो । झुलो र दल्सिन ढुङ्गालाई पानीले भिज्नबाट बचाउन ‘खिसा’ मा राखिन्थ्यो । खिसा छालाबाट बनाइएको हुन्छ ।
घुमः परम्परागत रुपमा घरमा बाँसका चोया र रुख वा लहराका पातले बनाइएको पानी पर्दा ओड्ने साधनलाई ‘घुम’ भनिन्छ । यसको प्रयोग खेत जोत्ने बेला र धानको बेर्ना उखेल्ने बेलामा अथवा पानीले भिज्नबाट बँच्नको लागि प्रयोग गरिन्छ । यो विशेषगरी बासँको चोया र विभिन्न प्रकारका लहरा वा रुखका पातहूलाई बुनेर बनाइएको हुन्छ । हाल जिल्लामा यसको प्रयोग पनि कमै मात्रामा देख्न पाइन्छ ।
आफ्नै कला र सीपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा कसैले ध्यान दिइएको पाइएको छैन निगालो तथा बाँसबाट बनेका सामग्री स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छन् । तर पछिल्लो समय प्लास्टिकका सामग्रीको प्रयोगले यस्ता सामग्री लोप हुने अवस्थामा पुगेका छन् ।
डेलीः डेलीलाई गोठको दराज भन्दा पनि फरक पर्दैन । डेली भन्नाले बाँसका चोया, बेत आदिद्धारा बनेको पेटारो भन्ने बुझिन्छ । पहिलेपहिले अउल बाट लेक तथा लेकबाट अउल गोठ लैजादा तथा सार्दा गोठमा आवश्यक सम्पुर्ण सामाग्री यहि डेलीमा बोकेर लगिने गरिन्थ्यो । अझ रमाइलो कुरा त यो भाडोमा गोठमा आवश्यक सम्पुर्ण सामाग्रीहरु एकै ठाउँमा अटाउथ्यो । तर आधुनिकता संगै डेली पनि आजभोलि लोप भएको छ ।
भुनेः यो चोयाबाट बनाइएको एक प्रकारको भाडो हो । बास, मालिङगो आदिका चोयाले बुनेको लेकतिरबाट मही ओसार्र्ने भाडाँे हो भुने । यो हस्तनिर्मीत सामाग्री हो । यो बनाउन सिप पनि थोरैले नपुग्ने, जवकि बासँको चोयाबाट तरल पदार्थ नछिर्ने गरि खिपेर बनाइन्थ्यो । तर यो त पछिल्लो पुस्तालाई इतिहास मात्रै बनेको छ । कतै देखिहाले रमिते मात्रै बनेको छ ।
धिरीः यो एकप्रकारको पानि बोक्ने बासँको भाडो हो । परापुर्वकालमा पानि बोक्नको लागि यसलाई प्रयोग गरिन्थ्यो । कुनै एउटा ठुलो बासँका आखाँ खोलेर खिपेर बनाएपछि पानि बोक्ने काममा प्रयोग गरिने धिरी वर्तमान पुस्ताले प्रयोग गर्नु त परै जाओस नाम सुन्दै अनौठो मान्छन् ।
खलातीः यो आरनमा आगो फुक्न हावा दिने छालाको थैलो हो । खलाती बिशेष गरी विश्वकर्मा समुदायले फलामका सामाग्री पगाल्न तथा काचो फलामबाट विभिन्न आकृति निमार्ण गर्नको लागि आगो फुक्न यसको प्रयोग गर्ने गरेको पाइन्छ । आधुनिक प्रकारका मेसिनको प्रयोगका कारण आजकल यो इतिहास मात्रै बन्न पुगेको छ । यसको संरक्षणमा न त सम्बन्धित समुदायले चासो दिएका छन् न त अन्य सरोकारवाला निकायले नै । आजकल खलातीको सट्टा अन्य आधुनिक मेसिन प्रयोग गर्न थालिएको छ ।
कोल, ढिकी, जातो
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्ता सम्ममा उखु, अमिलो र तोरी पेल्न गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर भाेजपुरका सुमगका साथै ग्रामीण क्षेत्रबाट समेत विस्थापित भइसकेको छ । त्यसैगरी धान कुट्न प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छन् । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् ।
माथि उल्लोखित सामाग्रीहरु नयाँ पुस्तका लागि दन्त्य कथा भई सकेका छन् । नयाँ यस्ता नाम सुन्दै औठो मान्छन् । पुस्ताहरु नेपाली समाजका विभिन्न मेसिनहरु हराउदै गएका छन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुदै गइरहेका छन् । यस्ता सामाग्रीका जानकार पाविहाङ राईका अनुसार आधा रातदेखि ढिकीच्याउँ ढिकीच्याउँ र घुइँघुइँ गर्ने ढिकीजाँता लोप हुँदै गएका छन् । ‘बूढापाकाहरूले प्रयोग गर्दै आएका मौलिक हाते औजार ढिकी, जाँतो र कोलसमेत नयाँ पुस्ताका लागि इतिहास मात्र रहने भयो,’ साहित्यकार राईले भने । अहिले आधुनिक बाजागाजाले स्थान पाएपछि मौलिक संस्कृति लोकबाजाहरू पनि हराउँदै गएका छन् राईले थपे ।
यस जिल्लाका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको स्थानिय श्रीकुमार राई बताउँछन् । घरेलु मेसिन लगायतका परम्परागत साधन पनि लोप हुदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै संकटमा परेको राईले बताए । ‘भाेजपुरका घरेलु मेसिनहरू हराइसके,’ राईले भने, ‘हामी को हौं ? हाम्रो सभ्यता के हो भन्ने कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि संकटमा परेको छ । स्थानीय स्रोतसाधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।
‘जीवनयापनको क्रममा पुर्खाले प्रयोगमा ल्याएका घरेलु उपकरण विशुद्ध हाम्रा पुर्खाको आविष्कार हो,’ स्थानीय मौलिक संस्कृतिका विषयमा रुचि राख्ने शम्भु राई भने, मौलिक घरेलु उपकरणको अध्ययनबाट पूर्वजहरुको आर्थिक, सामाजिक एवं धार्मिक अवस्थाका साथै प्रचलित जीवनशैलीको परिचय समेत बोध गर्न सकिन्छ । ‘घरेलु उपकरण पूरै लोप भएपछि भावी पुस्ताका लागि यस क्षेत्रको मानव सभ्यता र संस्कृतिका विषयमा अध्ययन गर्ने आधार रहने छैन,’ राईले भने, ‘पाश्चात्य जीवनशैलीलाई आधुनिकीकरणको मूलभूत आधार मान्ने मनोविज्ञान सघन र व्यापक रुपमा झाँगिनु हाम्रो मौलिक जीवनशैलीको विनाश निम्त्याउनु हो ।
दैनिक प्रयोगका विभिन्न आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवं गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ,’ स्थानिय नविन प्रधानले भने, ‘घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो एवं खर्चिलो छ ।’ लोप हुदै गइरहेका यी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने कुरामा प्रधानकाे जोड रहेको छ । प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु उपकरणको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु उपकरण आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको भनाई छ । परम्परागत ज्ञानको उपयोग कै आधारशिलामा वर्तमान विश्वले यो छलाङ मारेको हो । सोही कारण पनि यो ज्ञान तथा शिपलाई संरक्षण गर्नुपर्ने आवश्यकता छ । परम्परागत ज्ञानको अभिलेखीकरण हुनु अहिलेको समयमा अति महत्व भइसकेको छ । समुदायमा रहेको परम्परागत ज्ञानको संरक्षणको महत्व दिनानुदिन बढिरहेको अवस्थमा राज्यले उचित नीति निर्माण गर्दै कार्यान्वयनतर्फ जानुपर्ने देखिन्छ । राज्यले परम्परागत ज्ञान संरक्षणको वातावरण तयार पारी सम्पूर्ण समुदायहरुले साथ दिनु पर्दछ ।
परम्परागत ज्ञानको फाइदा लिनका लागि र आफ्नो सीप तथा ज्ञान सुरक्षित राख्न समुदाय सजक हुन जरुरी छ । परम्परागत ज्ञान लोप भएमा समुदायले मात्र हानी बहोर्ने नभएर देशले नै क्षति व्यहोर्छ । हाम्रा छरपष्ट रहेका परम्परागत तौरतरिका, सीप, कला, सिर्जना, र प्रविधिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो र आजको आवश्यकता पनि हो ।
यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु उपकरणको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिइनु उपयुक्त नहोला र ? संरक्षणका लागि परम्परागत मेसिनको नमुना संग्रहालय स्थापनाका लागि पो सोच्ने कि ? सरोकारवालाहरूको ध्यान जान आवश्यक देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर