+
Search

ताजा अपडेट +

पपुलर +

भाेजपुरमा आठ लाख बराबरका कृषि सामग्री हस्तान्तरण

कोशी खबर
२०८१ बैशाख ९, आईतवार ०६:४३

भोजपुर । परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई करिब रु आठ लाख बराबरका कृषि सामग्री हस्तान्तरण गरिएको छ ।
कृषि ज्ञान केन्द्र भोजपुरको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागतमा बोखिमको प्रगतिशील महिला कृषक समूहलाई आज कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यालयबाट अनुदानमा खरिद गरी वितरण गर्न लागिएका सामग्री किसानलाई हस्तान्तरण गर्नुहुँदै कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले कृषि क्षेत्रमा बोखिम उत्पादनशील क्षेत्र भएकाले यहाँका किसानलाई थप प्रोत्साहन गर्न सामग्री वितरण गरिएको बताए ।

प्रमुख यादवले भने, “कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुनेछ । म यी सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दछु ।” प्रमुख यादवले मकै उत्पादकत्व प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि सामग्री अनुदानमा वितरण गरिएको बताए ।

कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान रु पाँच लाख ९९ हजार तीन सय २५ र किसानको २५ प्रतिशत रु एक लाख ९९ हजार सात सय ७५ गरी कुल रु सात लाख ९९ हजार एक सयको कृषि सामग्री खरिद गरी कृषक समूहलाई हस्तान्तरण गरिएको केन्द्रका छैटौँ अधिकृत टेकबहादुर कार्कीले बताए ।

किसानलाई मिनीटिलर पाँच थान, छ सय केजी मकैको बीउ, कम्वाइन मिल, पावर स्प्रेयर १३ थान, मकै रोप्ने मेसिन चार थान, क्रेनथ्रेसर चार थानलगायतका सामग्री वितरण गरिएको अधिकृत कार्कीले बताए।
परम्परागत खेतीलाई आधुनिकीकरण गर्दै नयाँ ढङ्गले खेती गर्न बोमिखका किसानले पाएका सामग्री उपयोगी हुने किसान ताराबहादुर केसीले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा कृषक समूह, किसान, ज्ञान केन्द्रका कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर